काठमाडौँ- नेपाल प्रहरीमा करोडौंको भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनलाई तीव्रता दिएको छ। लत्ताकपडादेखि बन्दोबस्तीका सामान र अस्पतालका विभिन्न उपकरणसम्मका सामग्री खरिदमा करोडौँ भ्रष्टाचार भएको आशंकासहित अख्तियारले आरोपितसँग धमाधम बयान लिन सुरु गरेको हो।
अख्तियारले भ्रष्टाचारबारे परेका उजुरीका आधारमा भर्खरै अवकाशमा गएका प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहलाई पनि बयान लिएको छ। आईजीबाट अवकाश भएको ११औँ दिनमा सिंह ‘रातो घर’ भनेर चिनिने अख्तियारमा पुगेर बयानसमेत दिएको स्रोतले जानकारी दिएको छ। अख्तियारले पूर्वआईजी सिंहलाई बयानका लागि बोलाएपछि गत आइतबार उनी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए।
टंगालमा पूर्वआईजी सिंहसँग अख्तियारले डेढ घन्टा लामो बयान लिएको छ। उजुरीहरुमा उनी आईजी भएपछि भएका खरिद प्रकरणमा करोडौँको रकम घोटाला भएको दाबी गरिएको छ। सिंह आईजीपी हुँदा अख्तियारले बयान लिन खोजे पनि उनले शक्तिकेन्द्रमार्फत् दबाब दिएपछि बयानको प्रक्रिया रोकिएको थियो।
अन्ततः अवकाशको ११औँ दिनमा भने सिंहले बयान दिनुपर्यो। अख्तियारले उनकै प्रत्यक्ष निर्देशनमा भएका म्याट्रेस खरिद, म्यादी प्रहरीका लत्ताकपडा, अन्य बन्दोबस्तीका सामान, डी–एम बुटलगायतका सामग्री खरिदमा भ्रष्टाचार भएको हुन सक्ने भन्दै पूर्वआईजी सिंहसँग बयान लिइएको हो। पूर्वआईजी सिंहसँगै प्रहरी अस्पतालका प्रमुख तथा एआईजी आशा सिंह, र अर्का बहालवाला एआईजी दीपक थापासँग पनि अख्तियारले बयान लिएको छ।
आशा सिंहले नेतृत्व गरेको प्रहरी अस्पतालमा पनि विभिन्न उपकरण खरिद गर्दा करोडौं रुपैयाँ भ्रष्टाचार भएको आरोप छ। १० वर्ष पूरानो एमआरआई मेसिनलगायतका उपकरण खरिद गरेर १० करोडभन्दा बढी रकम घोटाला गरेको आरोपमा एआईजी सिंहमाथि अख्तियारले बयान लिएको हो।
करोडौँ रकम भ्रष्टाचार गरेको आरोपमा पूर्वआईजी सिंहसँगै बहालवाला एआईजीद्वय आशा सिंह र दीपक थापासँग अख्तियारले बयान लिएको छ।
एमआरआई मेसिन खरिद गर्न भन्दै प्रहरी अस्पतालले गत माघ २९ गते टेन्डर आह्वान गरेको थियो। मेसिनको स्पेसिफिकेसन बनाउँदा नै ‘सेटिङ’ गरेर आफ्नो मान्छेलाई ठेक्का दिएर पूरानो मेसिन खरिद गर्दै १० करोड घोटाला गरिएको आरोप लागेको छ।
यो प्रकरणमा पनि आईजी सिंहसँगै एआईजी आशा सिंह, रेडियोलोजिस्ट डा विजयराम श्रेष्ठसमेतको मिलेमतो रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। उक्त मेसिन खरिदका लागि भन्दै साढे २७ करोड निकासासमेत भएको थियो। उक्त ठेक्का सिमेन्स कम्पनीले पाएको थियो। सिमेन्सका नेपाल एजेन्ट शेर सिंहसँग मिलेर १० वर्ष पूरानो मेसिन खेरिद गरिएको आरोप उनीहरुमाथि छ। १८ करोड पर्ने उक्त सामानलाई साढे २७ करोड लागत देखाएर भ्रष्टाचार गरिएको आरोप छ।
अख्तियारले अर्का एआईजी दीपक थापासँग पनि बयान लिएको छ। प्रहरीको अर्थ मन्त्रालय भनेर चिनिने प्रबन्ध महाशाखामा बसेर सम्पूर्ण खरिद प्रक्रियाको काम उनै थापाले गरेका थिए। आईजीकै निर्देशनमा उनले खरिद प्रक्रियाको काम गर्ने, बिना ठेक्का सार्वजनिक खरिद नियमावली छलेर सामान किन्ने काम गरेको आरोप एआइजी थापामाथि छ। आईजीका ‘प्रिय पात्र’ भनेर चिनिने उनै थापासँग पनि अख्तियारले बयान लिएको हो।
प्रहरीमा बुट खरिद, म्यादी प्रहरीका लत्ताकपडा, म्याट्रेसलगायतका खरिदमा ठूलो घोटाला भएको आशंका गरिएको छ। आईजी सिंह र एआईजी थापाको सेटिङमा डीएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर तिरेर ६ करोड रुपैयाँ भन्दा बढी घोटाला गरिएको आरोप छ।
प्रहरीमा बुट खरिद, म्यादी प्रहरीका लत्ताकपडा, म्याट्रेसलगायतका खरिदमा ठूलो घोटाला भएको आशंका गरिएको छ। आईजी सिंह र एआईजी थापाले सार्वजनिक खरिद नियमावलीलाई नै पन्छाएर उनीहरूले करोडौंका म्याट्रेस खरिद गरेका थिए।
एआईजी थापाकै योजनामा व्यापारी केशर प्रधानको बिजनेस ट्रेडर्स कम्पनीसँग २ हजार ६ सय ५० रुपैयाँका दरले १३ करोड ५० लाखका बुट खरिद गरिएको प्रहरी स्रोतको दावी छ। तर ती बुट गुणस्तरहीन भएपछि सिपाहीले समेत गुनासो गरेका थिए। त्यसपछि सो खरिद प्रकरण शन्देहपूर्ण रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
त्यस्तै आईजी सिंह र एआईजी थापाले सार्वजनिक खरिद नियमावलीलाई नै पन्छाएर करोडौंका म्याट्रेस खरिद गरेको विषय माथि पनि अख्तियारले छानबिन सुरु गरेको छ। प्रहरीलाई चाहिने म्याट्रेस एकमुष्ठ रूपमा प्रहरी प्रधान कार्यालयबाट खरिद नगरी सार्वजनिक खरिद नियमावली छलिएको थियो। नियमावलीको व्यवस्था छल्दै १० लाख रूपैयाँका दरले प्रहरी कार्यालयहरूलाई रकम पठाएर ठेकेदारले उत्तैबाट बुझ्ने गरी सामान खरिद गरिएको थियो।
म्याट्रेस खरिदमा पनि १० करोडभन्दा बढी रकम भ्रष्टाचार भएको दाबी गरिएको छ। प्रहरी प्रधान कार्यालयले १६५ युनिटका लागि भन्दै ९ लाख ५० हजार रुपैयाँका दरले पैसा पठाएर सामान खरिद गरी घोटाला गरेको आरोप छ। १० लाखभन्दा बढी मूल्यका सामान खरिद गर्दा टेन्डर आह्वान गर्नुपर्ने सार्वजनिक खरिद नियमावलीको व्यवस्था भएकाले त्यसलाई छल्न एकमुस्ट सामान खरिद नगरी सबै कार्यालयलाई पैसा पठाइएको थियो।
प्रहरीलाई म्याट्रेस उलपब्ध गराउने काम भने व्यापारी राजमान मिश्रले गरेका थिए। ६ हजार रुपैयाँ पर्ने म्याट्रेसलाई भ्याटसहित १३ हजार २६९ रुपैयाँ मूल्य बनाएर भ्रष्टाचार गरेको आरोप छ। गत असारमा म्याट्रेसको कारोबार भएको थियो।
घोटाला प्रकरणमा अख्तियारले धमाधम बयान लिन थालेपछि अहिले उनीहरू शक्तिकेन्द्र धाउँदै अनुसन्धान प्रभावित पार्ने योजनामा लागेका छन्। दीपक थापा एमाले र माओवादी केन्द्रसँग निकट रहेकाले उनले त्यताबाट दबाब दिएका छन् भने पूर्वआईजी सिंह कांग्रेससँग निकट रहेकाले सन्निकट दलका नेतामार्फत अनुसन्धान प्रभावित पार्ने प्रयासमा रहेको स्रोतको दाबी छ।
(एआईजी दीपक थापा हुनुपर्नेमा यसअघि अन्यथा पर्न गएकाले शीर्षकसहित समाचार विवरण सच्याइएको छ। सं.)
