बैतडी- नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ भएको छ। एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको शुभारम्भ बिहीबार बिहान गरेका हुन्।
अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको ओलीको जिकिर थियो। राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल पार्न मध्यपहाडी लोकमार्गअन्तर्गत महाकाली- मेची पदयात्रा थालिएको बताएका ओलीले सकारात्मक राष्ट्रिय शक्ति निर्माणका लागि जनताका बीचमा आएको बताए।
‘यो संवादको यात्रा हो। अध्ययनको यात्रा हो। संकल्पको यात्रा हो। समृद्ध नेपाल सुखी, नेपाली बनाइछाड्ने नेपाली जनताको आकांक्षा, जसलाई एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ’, उनले भने, ‘त्यसलाई सफल पार्न नेपालको मध्यपहाडी भूभागमा विकासका सम्भावना कस्ता छन्? कुन ठाउँमा कसरी विकास हुनसक्छ भन्ने अध्ययन गर्न जनतासँग सघन संवाद गर्नेछौँ।’

महाकाली-मेची यात्रामा देखिएको उत्साहजनक सहभागिताले आफूलाई खुसी लागेको उनको भनाइ थियो। ‘यो यात्रा आमजनताको राष्ट्रिय शक्ति निर्माणको सन्दर्भमा जागरण अभियान पनि हो। यसले राष्ट्रिय शक्ति निर्माण गर्न राष्ट्र, जनता र परिवर्तनको हितमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ’, ओलीले भने।
सङ्कल्प यात्रा शुभारम्भपछि बिहीबारै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ। साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको एमालेले जनाएको छ।
संकल्पयात्रा सुरु गर्नुअघि ओलीले पत्नी राधिकासहित निंगलाशैनी देवीको दर्शन तथा पूजा गरेका थिए। ‘राधिका र मैले दशरथचन्द नगरपालिकामा पर्ने निङालासइनी देवीको दर्शन र पूजा गर्यौँ,’ ओलीले फेसबुकमा लेखेका छन्।



