काठमाडौँ- मिटरब्याज पीडितहरूसँग वार्ता गर्न गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन भएको छ। मन्त्रालयले शुक्रबार पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।
समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्। गृहमन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन्।
उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएका र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।
अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूका मागलाई समेत समेट्न वार्ता समिति बनाइएको हो।
