काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक मुख्यालयको निरीक्षण गरेका छन्। शुक्रबार जंगी अड्डा पुगेका मन्त्री खड्काले ‘चेन अफ कमान्ड’ नेपाली सेनाको आधारस्तम्भ भएकाले पालना गर्न सकल दर्जालाई निर्देशन दिए।
रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रूपमा सधैं अब्बल रहन सकेको भनी सह्राना गरे। ‘देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी छ। जनताको आशा र विश्वास जगाउन मन्त्रालय तथा सेना मिलेर जाँदा आशातित उपलब्धि हासिल हुनेछ,’ उनले भनेका थिए।
प्रधानसेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै सेना संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा विशेष परिस्थितिमा निर्दिष्ट गरिने कानुन बमोजिमका अतिरिक्त जिम्मेवारी बहन गर्न सदैव तत्पर रहेको बताएका थिए।
रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सेनाको समग्र क्षमता विकासलगायत विद्यमान कठिनाइ समाधानमा नेतृत्वले जिम्मेवारी सम्हालेलगत्तै उपप्रधानमन्त्रीबाट चासो तथा महत्वका साथ निर्देशन प्राप्त भइरहेको बताए।


