काठमाडौँ- काठमाडौंमा अनलाइनमै कन्ट्याक्ट गरेर यौन व्यवसाय चलाउने समूह सक्रिय रहेको पाइएको छ।
प्रहरीले यस कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न स्थानबाट शुक्रबार र शनिबार यो समूहका सदस्यहरूलाई पक्राउ गरेको हो।
दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरलगायत स्थानबाट यो समूहलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
पक्राउ पर्नेमा दोरम्बा-३ रामेछाप घर भई हाल ललितपुर बस्दै आएका २७ वर्षीय छत्रबहादुर रोका, लिखु गाउँपालिका-७ ओखलढुंगा घर भई हाल बागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोशी-६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते कार्की छन्।
यस्तै, कपुरकोट-५ सल्यान घर भई बालाजु-१६ बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोट बिदुर-६ घर भई काठमाडौं-२६ बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन्।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले सुरूमा यौनकर्मीहरूलाई सम्पर्कमा ल्याउने गर्थे। त्यसपछि ग्राहक खोज्थे। ‘ह्वाट्सएपलगायतबाट उनीहरूले ग्राहक खोज्ने गर्थे,’ उनले भने, ‘त्यहीँ अन्तिम डिल हुन्थ्यो।’
पक्राउ परेकाहरूले अनलाइनमै यौनकर्मीहरूको फोटो ग्राहकलाई उपलब्ध गराउँथे। फोटो पठाएपछि मोलमोलाई सुरू हुन्थ्यो।
उनीहरूले यौनकर्मीको दर निर्धारण गर्थे। काम सकिएपछि ती यौनकर्मीलाई एकदमै कम रकम दिन्थे।
ग्राहक बनेर गएका प्रहरीले पक्रिए
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार राजधानीका विभिन्न ठाउँमा अनलाइनबाटै यौनकर्मी उपलब्ध गराउने समूह सक्रिय रहेको जानकारी केही समयअघि आएको थियो।
उक्त समूहले यौनकर्मीहरू काम गर्ने होटल तथा गेष्ट हाउसहरूसँग सम्पर्क गर्थे। यौनकर्मीहरूको नम्बर र फोटो माग्थे।
त्यसपछि उनीहरू ग्राहकहरूको खोजी गर्थे। त्यस्ता ग्राहक पनि होटल तथा गेष्ट हाउसहरूमा आइपुग्नेहरू नै हुन्थे।
एक दिनको लागि उनीहरूले पाँच, १० देखि ५० र ७० हजार रुपैयाँसम्मको ‘डिल’ गरेर यौनकर्मीलाई ग्राहक उपलब्ध गराउँथे।
सम्पर्कमा आउने ग्राहकलाई युवतीको फोटो पठाउँथे। त्यसपछि दरभाउ सुरू गर्थे।
‘डिल भएपछि ग्राहकको नम्बर दिएर उनी बसेको गेष्ट हाउस पुर्याउँथे,’ ती अधिकृतले भने।
यसरी ग्राहकबाट रकम उठाएपछि युवतीहरूलाई भने एकदमै कम रुपैयाँ दिने गर्थे। ‘जतिमा कुरा भएको हो, युवतीहरूलाई त्यसको २० देखि २५ प्रतिशत मात्रै रकम दिने गरेको पाइयो,’ ती अधिकृत भन्छन्।
राजधानीमा यौनकर्मी उपलब्ध गराउने समूह पहिलेदेखि नै सक्रिय हो। अहिले यसको प्रकृति फरक भएको मात्रै हो।
‘पहिले यौनकर्मी आफैं बाटोमा कुर्ने, ग्राहक खोज्ने गर्थे, अहिले भर्चुअल रूपमा यस्तो व्यवसाय हुने गरेको हो,’ ती अधिकृतले भने।
एकदमै न्यून शुल्क दिएर युवतीहरूलाई ठग्ने गरेको गुनासो आएपछि भने प्रहरीले समूहको खोजी गर्यो।
यसका लागि अनुसन्धानमा संलग्न प्रहरी आफैं ग्राहक बनेर गए।
‘प्रहरीले यो समूहसँग डिल गर्दै गएपछि सबै रहस्यहरू बाहिर आए, जहाँ भेटियो त्यहीँबाट पक्राउ गरियो,’ ती अधिकृतले भने।
यसरी भर्चुअल रूपमा कार्य गर्दा गोपनीयता हत्तपत्त भंग नहुने भएकाले युवतीहरू आफूलाई सुरक्षित मान्ने गरेको पाइएको ती अधिकृत बताउँछन्।
पक्राउ परेकाहरूबाट थप बुझ्ने काम भइरहेको रेग्मी बताउँछन्। यस्तो कार्यमा संलग्न अन्य धेरै हुने भएकाले खोजी भइरहेको उनले बताए। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
‘यो प्रकरणमा ठगी साथै मानव बेचबिखनजन्य मुद्दा आकर्षित हुन सक्छन्,’ रेग्मीले भने।


