धुलिखेल- न्यायिक समितिको भूमिका सुदृढीकरण सम्बन्धमा काठमाडौँ विश्वविद्यालय र काभ्रे जिल्लाका १३ पालिकाको सम्मेलन धुलिखेलमा आयोजना गरिएको छ। सम्मेलनले ‘काभ्रे न्यायिक समिति समन्वय मञ्च’को गठन गर्ने निर्णय गरेको छ।
मञ्चको सचिवालय काठमाडौँ विश्वविद्यालय, स्कुल अफ लमा रहने र प्रत्येक तीन महिनामा समीक्षा बैठक गर्नेछ। सम्मेलनले काभ्रेमा ल क्लिनिकको अवधारणा पनि बनाएको छ। यसले न्यायको पहुँचमा पुग्न नसक्नेका लागि निःशुल्क कानुनी सहायता दिने बताइएको छ।
कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले न्यायिक समितिले आम नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने बताए।
काभ्रे जिल्ला अदालतका प्रमुख न्यायाधीश मोहनराज भट्टराईले काभ्रेका न्यायिक समितिको काम प्रशंसनीय रहेको र न्यायिक समितिलाई सहयोग गर्न जिल्ला अदालत सदैव तत्पर रहेको बताए। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले काभ्रेका सबै पालिकालाई न्यायिक तथा अन्य काममा पनि काठमाडौँ विश्वविद्यालयले सहकार्य गर्ने बताए।
कार्यक्रममा काठमाडौँ, भक्तपुर र काभ्रेका ६ वटा नगरपालिकाहरुमा न्यायिक समितिको कार्यप्रभावकारिता सम्बन्धमा अध्ययन प्रतिवेदन समेत प्रस्तुत भएको थियो।


