काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन्। ‘वारेन्ट जारी हुनुहुँदैन, उहाँहरु शान्ति प्रक्रियामा आइसक्नुभएको छ। थप बुझ्दैछु,’ प्रधानमन्त्रीले प्रचण्डले भनेका थिए।
गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई साेमबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ।
विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हाे। विप्लव समाजवादी मोर्चामा सहभागी छन्।
२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपा २०७६ साल फागुनमा सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको हो। सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए।


