काठमाडौँ- रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न जाँदा मृत्यु भएका ६ जना नेपालीको शव नेपाल पठाउने नेपाल सरकारले रूससँग आग्रह गरेको छ।
सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरिएको जनाकारी दिएको हो।
‘नेपाल सरकारले रूसी सरकारलाई निज (मृतक)हरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो। तर मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सोमबार सार्वजनिक गरेको हो।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका-१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका-५ का प्रितम कार्की, मेलुङ गाउँपालिका-६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका-५ इलामका गंगाराज मोक्तान छन्।
नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिनसमेत रुसलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयको भनाइ छ।



