पोखरा- पोखरामा नियम विपरीत निजी सवारी साधन भाडामा लगाउने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो।
कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवन बरामका अनुसार नियम विपरीत निजी सवारी साधन भाडामा दिने पोखरा लेकसाइडका ४५ पसललाई सचेत गराइएको हो।
ट्राफिक प्रहरी कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरको संयुक्त टोलीले नियम विपरित निजी सवारी साधन भाडामा लागाउने ४५ पसललाई आइन्दा भाडामा नलगाउन सचेत गराएको छ।
उक्त अवसरमा ‘बाइक/कार अन रेन्ट’ लेखिएका ५५ वटा बोर्ड पनि प्रहरीले हटाएको छ। कानुन विपरीत निजी सवारी साधन भाडामा लगाएको गुनासो आएपछि सुरुमा सचेत गराइएको प्रहरी निरीक्षक बरामले बताए।
‘कानुन विपरीत निजी गाडी, मोटरसाइकल तथा स्कुटर भाडामा दिई व्यवसाय/पसल सञ्चालन गरेका ४५ वटा पसलहरुलाई सचेत गराउँदै ५५ वटा बोर्ड हटाइएका छौं। सुरुमा सचेत गराएका हौं। अटेर गरे कारबाही हुन्छ,’ उनले भने।
पछिल्लो समय विभिन्न यातायात व्यवसायी र सार्वजनिक सवारीधनीले निजी सवारी साधनले यात्रु ओसार्दा आफ्नो व्यवसायमा नकारात्मक असर परेको गुनासो गर्दै आएका छन्।
पोखरेली ट्याक्सी सेवा प्रालिले निजी सवारी साधनलाई यात्रु बोक्न दिएमा मिटरमा ट्याक्सी चलाउन नसक्ने बताउँदै आएको छ।
