गोरखा – उत्तरी गोरखाको सामागाउँ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँ लगायतका क्षेत्रमा हिमपात परेको उनले बताए। ‘हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ’, उनले भने, ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ।’
हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामा बताउँछन्। हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको उनको भनाइ छ।
अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ। चिसोले वृद्धवृद्धा र बालबच्चालाई बढी समस्या भएको छ।
साम्दो गाउँ समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइमा पर्दछ। उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ। त्यस्तैगरी चुम भ्यालीतर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए।
हिमपातका कारण घरपालुवा गाईबस्तुलाई चरन क्षेत्रमा लैजान समस्या भएको लामाको भनाइ छ। निलेगाउँ समुद्री सतहबाट ३ हजार ३०० मिटर उचाइमा पर्दछ। हिमपात सुरु भएसँगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ।
मनास्लु क्षेत्रमा पुगेका पर्यटक अहिले होटलमै आश्रय लिएर बसिरहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयले जनाएको छ। हिमपात हुन थालेपछि किसान भने खुसी भएका छन्।
हिमपातका भएपछि सुक्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसान खुसी भएका हुन्। लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ। साथै अहिले परेको हिउँले यार्सागुम्बा पनि राम्रो निस्कने साम्दोका व्यवसायी निमादोर्जे लामाले बताए।


