सिमकोट (हुम्ला)– हुम्लामा स्वास्थ्यकर्मी मृतअवस्थामा फेला परेकाछन्।
घरबाट बेपत्ता भएको ४ दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका हुन्।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ।
फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए। आफन्तले उनीलाई सोमबार दिउँसो मृतावस्थामा फेला परेका हुन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ।
घटनाको विस्तृत जानकारी अझै आउन नसकेको प्रहरीको भनाइ छ। घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।


