काठमाडौँ- नेकपा एले राष्ट्रिय महाधिवेशन गर्ने मिति सारेको छ। माघ १४ र १५ गते भनिएको महाधिवेशन आगामी जेठ ३-७ गतेसम्म गर्ने निर्णय पार्टीको सचिवालयले गरेको हो।
‘नेकपा एसको जारी केन्द्रीय सचिवालय कमिटीले पार्टीको महाधिवेशन आगामी २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ,’ पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने।
यसअघि महाधिवेशन गर्ने भनेर तोकिएको मिति माघ १४ र १५ गते भने राष्ट्रिय सम्मेलन गर्ने निर्णय नेकपा एसले गरेको छ। यस्तै मंसिर २८-२९ सचिवालय कमिटीको बैठक, पुस ९ स्थायी कमिटी बैठक, पुस १० गते पोलिट ब्युरो बैठक र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय भएको उनले जानकारी दिए।
महाधिवेशनका दस्तावेजको मस्यौदा तयार गर्ने अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जना सदस्य रहेको समिति गठन भएको समेत उनले जानकारी दिए।
राष्ट्रिय सम्मेलनको तयारीका लागि उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ। कार्यदलमा महासचिव घनश्याम भुसाल र
प्रकाश ज्वाला सदस्य छन्।
प्रवक्ता खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओली खलनायक नभएको समेत आरोप लगाए। ओलीकै कारण कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको उनको भनाइ थियो।
तर ओलीको गाली र श्रापले नेकपा एसलाई कुनै फरक नपर्ने बरु जसले श्राप र गाली दिन्छ उसकै व्यक्तित्व सकिने उनको भनाइ छ।


