उदयपुर- त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। गाउँकै जङ्गल/झाडीमा शव लुकाएको कसुरमा ती महिला पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान हत्या कसुरमा पक्राउ पर्नेमा दमौटीकी ४० वर्षीया निरकुमारी राई छन्।
निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जंगलको झाडीमा शवलाई स्याउलाले छोपेर लुकाएको आरोप छ। स्याउलाले झाडीमा शव छोपिएको अवस्थामा मङ्गलबार शव भेटिएको थियो। स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए।
घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए। प्रारम्भिक अनुसन्धान अनुसार निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ।
श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ। हत्यामा विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


