पोखरा- पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। मंसिर २१ गते र २२ गते लेकसाईडमा रहेको कुटी रिसोर्टमा सम्मेलन हुने आयोजक मुक्त फाउन्डेसनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।
दुई दिन चल्ने उक्त सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन्। कार्यक्रममा वैदिक ज्ञान तथा आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट हिमाली समाज र संस्कृतिका बारेमा खोज तथा अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा देशभित्रबाट र भारत, दक्षिणपूर्वी एसिया, युरोप र अमेरिकाबाट आएका ४० भन्दा बढी विज्ञहरुले प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन्। १० जना बढी विदेशी प्रस्तोताले अनलाइन माध्यमबाट कार्यपत्र प्रस्तुत भएका छन्।
सम्मेलनमा नेपालको पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक ज्ञान विज्ञान तथा विचारहरुका सम्बन्धमा छलफल र बहस हुने आयोजकले बताएको छ।
सम्मेलनमा देश विदेश तथा विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध २०० बढी व्यक्तिको उपस्थिती रहने भएको छ।
गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, मानवशास्त्र केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, काठमाडौँ, पोखरा महानगरपालिका र अन्य विभिन्न संघसंस्थाको समन्वयमा सम्मेलन हुने भएको हो।


