काठमाडौँ– घर पक्षले हत्या गरिएको भनिएकी आरती साहका पति मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमान साहलाई थुनामा पठाउने आदेश दिएको हो। यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ।
यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
आरती साहको माइती पक्ष भने आरतीको न्यायका लागि माग गर्दै माइतीघर मण्डलामा धर्नामा छ।
जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकस्थित आफ्नै घरमा गत जेठ ७ गते आरती मृत अवस्थामा फेला परेकी थिइन्। आरतीको हत्या भएको माइती पक्षको आरोप छ।


