काठमाडौँ- उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ।
अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेस गरी सुनुवाइ गर्ने तय भएको थियो ।
न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी र रु ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका थिए।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मङ्सिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ।
अदालतले उक्त विवादमा ९ जनालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने ६ जना प्रतिवादीका हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो।


