विराटनगर- विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ।
बुधबार दिउँसो भएको आगलागीमा परी गम्भीर घाइते बनेकाले उपचारका लागि काठमाडौँ ल्याइएकी एक महिलाको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो।
आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियाे।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार आगलागीमा परी शुशिला पासवानकाे घटनास्थलमै मृत्युु भएको थियाे। ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियाे। विराटनगर ६ का मण्डल कवाडी गाेदामका सञ्चालक हुन्।
आगलागीमा परी गम्भीर घाइते भएका चार जनालाई बुधबार राति काठमाडौँ पठाइएको थियो। यसमध्ये सुनिता कामतकाे मृत्यु भएको हो।
आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै सुनिता कामत, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको थियाे।
विराटनगरकाे मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी सुरु भएको थियो। गाेदामभित्र काम गरिरहेकाे अवस्थामा चुराेट सल्काएपछि एक्कासी आगाे लागेकाे थियाे।
गेट छेउमा लागेकाे आगाेका कारण काम गरिरहेका कामदार सहजै बाहिर निस्कन पाएनन्, जसले गर्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ।
आगलागीका कारण कवाडी पसल पूर्णरुपमा जलेकाे छ।


