बागलुङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्। बिहीबार मेची-महाकाली अभियानअन्तर्गत बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
वर्तमान सरकारलाई लज्जाबोध नभएको बताएका उनले अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने टिप्पणी गरे।
सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाएका उनले सरकार भएको जिकिर गरे।
‘यो सरकार लज्जाबोध नभएको सरकार हो। यसले राष्ट्रघाती काम गर्छ। यसले देशको इज्जत समाप्त पार्छ। यसले स्वाधीनता कमजोर पार्छ,’ ओलीको भनाइ थियो, ‘स्वतन्त्रताको प्रयोग गर्न सक्दैन। राष्ट्रिय हितको रक्षा गर्न सक्दैन। भूमिबारेमा बोल्न सक्दैन।’
विकासका कामहरु एमालेको समयमा मात्र भएको जिकिर गरेका ओलीले यो सरकार बनेपछि विकासका कामहरु ठप्प भएको जिकिर गरे।
‘अर्थतन्त्र ध्वस्त भएको छ, महंगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ,’ उनले भने, ‘अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो। यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो।’
यतिविधि गैरजिम्मेवार भएर पनि सरकारमा लाज नमानेर, लाज नलागेर बसिरहेकाले आफूलाई अचम्मलाग्दो भएको टिप्पणी गरे। ‘देशको राजनीतिक अस्थिरता बढ्दो छ। अराजकता बढ्दो छ। जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरु पलायन भइरहेका छन्,’ उनले भने , ‘अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नुपरेको छ। त्यही पनि पहिलो चौमासिकमा। पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पसा संकलन हुन्छ।’
अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए।


