काठमाडौँ- सङ्घीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनील नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए।
प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गरेका थिए। समिति बैठकमा सदस्यहरुले राखेको जिज्ञासामा उनले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताए।
त्यस्तै नेपाल र पोर्चुगलका खेलाडीको दुवै देशमा भ्रमणका लागि पहल गर्ने प्रस्तावित राजदूत नेपालको प्रतिबद्धता थियो। यसपछि समिति सदस्य सांसद रमेशजंग रायमाझीले प्रश्न गरे, ‘रोनाल्डोलाई किन नल्याउने? रोनाल्डोलाई ल्याएर नेपालको हिमाल देखाउन पाए हुन्थ्यो नि!’
जवाफमा प्रस्तावित राजदूत नेपालले रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए। ‘मेरो मनमा थियो, साह्रै महत्वकांक्षी होला भन्ने ठानेर कार्ययोजनामा लिखित रूपमा नराखेको हुँ। रोनाल्डोलाई नेपाल भ्रमण गराउन भरमग्दुर प्रयास गर्छु,’ प्रस्तावित राजदूत नेपालले भने। यसै वर्ष साउदी क्लब अल नासरमा आबद्ध भएका र पोर्चुगिच राष्ट्रिय फुटबल टोलीका फरवार्डसमेत रहेका क्रिस्टियानो रोनाल्डोका नेपालमा ठूलो संख्यामा फ्यान छन्।
पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उनको भनाइ छ। युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरणसहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाए।
गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। पछिल्लो समय पोर्चुगलमा जाने नेपाली नागरिकको सङ्ख्या बढिरहेको छ। मुख्यगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपाली पोर्चुगल जाने गरेका छन्।


