काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन्। चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ। मैले त भन्ने गर्या छु आजकाल, सबभन्दा ठूला मिटरब्याजी त बैंकहरु भए,’ उनले भने, ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो?’
सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए। अर्बपतिलाई ऋण दिने बैंकले सर्वसाधारणलाई भने नदिने गरेको उनको टिप्पणी छ, ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले। तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ।’
चितवनमा कांग्रेसको अवस्था खस्किँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। टोलमै कांग्रेस–कांग्रेसबीच बोलचालसमेत हुन छाडेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए। यसो हुनुमा केन्द्रको दोष भएको उनको भनाइ थियो।


