काठमाडौँ- नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन्।
उपचारको क्रममा ती महिलाको मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए। अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्। प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक खुलाइएको छ।
शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारका क्रममा मृत्यु भएको थियो।
ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ।
उनीहरूले ट्रकको सम्बन्धित समितिलाई छलफलमा बोलाउन माग गर्दै सडक अवरूद्ध पारेका थिए। प्रहरीले यथाशिघ्र ठक्कर दिने ट्रकको सम्बन्धित समितिसँग छलफल गर्ने व्यवस्था मिलाउने भनेपछि स्थानीयले अवरोध खोलेका छन्।


