रौतहट- रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा बिजुलीको तारले लागेर एक किसानको मृत्यु भएको छ। खेत जोतिरहेका बेला विद्युत्को तार खसेर लाग्दा स्थानीय बैजुलाल पण्डितको मृत्यु भएको हो।
करेन्ट लागेर पण्डितको मृत्यु भएसँगै एउटा गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
खेतमा जोतिरहेका बेला नजिकै रहेको ११ हजार भोल्टको तार खसेर लागेको थियो। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक झलक शर्माको टोली पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ।
प्रहरीका अनुसार विद्युतको पोलबाट नांगो तार खेतमा कसरी खस्यो भन्ने यकिन भइसकेको छैन।
स्थानीयका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुलीको तारमा आगो देखिने गरेको थियो। विद्युत् प्राधिकरणको लापरबाहीका कारण घटना भएको आरोप स्थानीयको छ।


