काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको बताएका हुन्।
‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो। अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ,’ उनले भने।
रुस-युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति व्यहोर्नु परेको उनको भनाइ छ।
‘कोही रूसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन्। युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौं। विगतमा देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ। इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्’, प्रधानमन्त्री प्रचण्डले भने।
इजरायल हमास युद्धमा बेपत्ता विपीन जोशीको खोजी भइरहेको उनको भनाइ छ।
