काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर बनाउने प्रयास गरेका छन्।
सोमबार साँझ नेता केसीले नेता शेखर र महामन्त्री गगनलाई राखेर कोइराला-थापाबीच बढ्दै गएको दूरी कम गर्ने प्रयत्न गरेका हुन्।
तीन नेताबीच भएको छलफलले शेखर कोइरालाले आफ्नो समूहको भेला एक दिन सार्न तयार भएका छन्। मंगलबारका लागि कोइरालाले समूहभेला डाकेका थिए। अब उनको समूहभेला बुधबार सरेको छ।
शेखरले आफूखुशी समूहभेला बोलाएको भन्दै गगन थापा असन्तुष्ट थिए। यसअघि शेखर भेलामा नजाने निष्कर्षमा पुगेका थापा अब भने भेलामा सहभागी हुन राजी भएका छन्।
नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन्। कांग्रेसको गत महाधिवेशनमा कोइराला र थापा एउटै प्यानल बनाएर चुनावमा होमिएका थिए। यसको संयोजन केसीले गरेका थिए।
केसीलाई बलबहादुर केसीले पनि साथ दिएका थिए। गत वर्ष भएको प्रतिनिधि सभामा संसदीय दलको नेताको निर्वाचनसम्म एकसाथ रहेको यो समूह पछिल्लो समय भने फाटेको छ।
