काठमाडौँ – आज पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, दाहिने शङ्ख र एक मुखे रुद्राक्ष हेर्न पाइने भएको छ।
मङ्गलबार बिहान साढे ९ बजेदेखि करिब ३ घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको पशुपति विकास कोषले जनाएको छ। पशुपतिनाथको पश्चिमढोका अघि यी बहुमूल्य सामग्री देखाइने छ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ।
यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसँग राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो। मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसँग राखिन्छ भनी देखाउन लागिएको प्रवक्ता अधिकारीले जानकारी दिए।


