काठमाडौँ- प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौं तहका कर्मचारी अरविन यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
उनीहरूले ट्राभल एजेन्टसँग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये अध्यागमन विभागका अधिकृत खड्कालाई एजेन्टको सेटिङमार्फत् पैसा लिँदालिँदै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए।
भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उत्तीर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैयाँ देखाउनुपर्ने भएकाले सोही अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको उनले बताए।
अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ परेसँगै अन्य केही एयरलाइन्समाथि पनि अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ। उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।
नक्कली कागजात तयार गरी पछिल्लो समय भिजिट भिसामा खाडी मुलुक जानेहरू बढेका थिए। त्यसमा विमानस्थलस्थित अध्यागमनका कर्मचारीहरूको मिलेमतो रहेको खुलेको थियो।
‘प्रत्येक दिन ५०-६० जना भिजिट भिसामा खाडी मुलुक गइरहेका थिए, त्यसमा एयर जजिरा, कुवेत, एयर अरेबिया, ओमान र हिमालयन नै प्रयोग भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले दिनहुँजसो समातेको भए पनि अध्यागमनबाट जाँचपास भइसकेकालाई फर्काउन नमिल्ने भएका कारण धेरै महिलाहरू खाडी मुलुक पुग्थे। यसमा बैंक खाताको विवरण, नाता प्रमाणितको कागजात र आइए पास भएको प्रमाणपत्र नक्कली बनाइने गरिएको छ।
‘उनीहरूले आफूले कुन कलेज पढेको भन्न पनि सक्दैनन्, त्यस्ता महिलाहरू कुवेत र ओमान पुगिरहेका छन्,’ ती अधिकृतले भने, ‘अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति २५ देखि ६० हजार रुपैयाँसम्म घुस लिएर कागजातमा आँखा चिम्लिदिने गरेका छन्।’
सन् २०१२/१३ मा श्रम स्वीकृतिमै खाडी मुलुक ओमान र कुवेतमा महिलाहरू जाने गरेका थिए। श्रम स्वीकृति गर्दा समय लाग्ने भएकाले अधिकांशहरू अहिले भिजिट भिसामा ती मुलुक जान थालेका छन्।
भिजिट भिसामा जाँदा आईए पास भएको शैक्षिक प्रमाणपत्र चाहिन्छ। कुन होटलमा बस्ने हो र भिसा अवधिभर हुने खर्च विवरण (बैंक स्टेटमेन्ट) देखाउनुपर्ने हुन्छ। भिजिट भिसामा जाँदा सम्बन्धित देशमा आफ्नो नातेदार को छ भनी कागजात देखाउनुपर्ने हुन्छ। ती सबै नक्कली बनाइने गरिएको ती अधिकृतले बताए।
