काठमाडौँ- जीवाष्म इन्धन युग ‘अन्तको’ सुरुआत गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) सम्पन्न भएको छ। उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो।
कोप–२८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा २ साता अघि सुरु भएको थियो। सम्मेलनका २ सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’ को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन्।
‘हामीले दुबईमा जीवाश्म इन्धनको युग पल्टाउन सकेनौँ, यो नतिजा अन्त्यको सुरुआत हो’, संयुक्त राष्ट्रसङ्घ, जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले आफ्नो समापन भाषणमा भने, ‘अब सबै सरकार र व्यवसायीले ढिलाइ नगरी यी वाचालाई वास्तविकतामा परिणत गर्न आवश्यक छ।’
‘जलवायुको विश्वव्यापी समीक्षा’ लाई कोप–२८ को केन्द्रीय नतिजा मानिन्छ। यसमा वार्तामा भएका सबै तत्त्वहरू समावेश छन्। अब सन् २०२५ सम्ममा हुने जलवायु कार्य योजना विकास गर्न देशहरूले यी नतिजा प्रयोग गर्न सक्छन्।
‘जलवायुको विश्वव्यापी समीक्षा’ ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ। तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ।
उक्त समीक्षाले पक्ष राष्ट्रहरूलाई विश्वव्यापी स्तरमा नवीकरणीय ऊर्जा क्षमताको तीन गुणा वृद्धि र सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारलाई दोब्बर बनाउने कार्यहरू गर्न आह्वान गरेको छ। समीक्षाको सूचीमा कोइला ऊर्जाको प्रयोग चरणबद्धरूपमा घटाउन प्रयास गर्ने, जीवाश्म इन्धनको अनुदानलाई चरणबद्ध रूपमा हटाउने लगायत समावेश छन्। यसैगरी ऊर्जा प्रणालीमा जीवाश्म इन्धनबाट सङ्क्रमणलाई अन्त्य गर्न न्यायसङ्गत, व्यवस्थित र समतामूलक ढङ्गमा विकसित देशहरूले नेतृत्व लिनुपर्नेमा जोड दिइएको छ।
छोटो अवधिमा उत्सर्जन घटाउने लक्ष्यहरू सबै हरितगृह ग्यास, क्षेत्र र वर्गलाई समेट्ने र सन् २०२५ सम्ममा तिनीहरूलाई जलवायु कार्ययोजनाको अर्को चरणमा तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न पक्ष राष्ट्रहरूलाई महत्वाकांक्षी योजनाका साथ अगाडि आउन प्रोत्साहित गरिएको छ।


