काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ।
सुदूरपश्चिमको टीकापुर, कर्णालीको भेरीगङ्गा, लुम्बिनीको बुटवल, गण्डकीको पोखरा, बागमतीको भरतपुर, मधेस प्रदेशको वीरगञ्ज र कोशीको इटहरीबाट महाधिवेशन प्रक्रिया थालिएको हो।
७ प्रदेशका ७ वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। ७ ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ।
कैलालीको टीकापुर नगरपालिका १ मा सहमहामन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगङ्गा नगरपालिका ६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका १३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन्।
यस्तै, पोखरा महानगरपालिका १० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका ११ मा महामन्त्री मुकुल ढकाल, बारा जितपुर सिमरा उपमहानगरपालिका २ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका २० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ।


