काठमाडौँ- भारतीय चलचित्र ‘सलार’मा गायिका मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ।
बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत ‘सुरज हि छाहो बन्के’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।
मेनुकाले केही दिनअघि गायन रियालिटी शो इन्डियन आइडलको मञ्चमा सलारमा गीत गाएको सार्वजनिक गरेकी थिइन्।
सलारमा गीत गाउने अवसर मिलेकोमा उनले खुशी व्यक्त गरेकी थिइन्। उनको खुशी र सम्मानमा आइडलको स्टेजका सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए। मेनुकाले इन्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।
रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्। ‘केजीएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। युट्युबमा गीत अपलोड भएको १३ घण्टामा झन्डै १५ लाख भ्युज आएको छ।
‘सलार’ २२ डिसेम्बरदेखि प्रदर्शनमा आउने तयारीमा छ।


