पोखरा– गण्डकी प्रदेशका सांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले पार्टी अध्यक्ष माधव नेपालले पार्टी छोडे मात्र आफूले छोड्ने बताएका छन्। बिहीबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष माधव नेपाललाई हेरेर आफू एकीकृत समाजवादी प्रवेश गरेको बताएका उनले माधव नेपाल जत्तिको डाइनामिक नेता अरु नभएको समेत दाबी गरे।
‘एउटा अध्यक्षमा भिजन हुनुपर्छ। नेता डाइनामिक हुनुपर्छ। त्यो हाम्रो अध्यक्ष माधव नेपाल हुनुहुन्छ,’ उनले भने, ‘म उहाँलाई नै हेरेर यो पार्टीमा आएको हुँ। उहाँले नै पार्टी छोड्नुभयो भने मैले पनि छोड्छु। अब पार्टी नै माओवादी/एमाले वा अरु पार्टीसँग एकता गर्यो भने म पनि त्यतै जान परिहाल्यो।’
अरु सबै प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई सरकारमा लैजाँदा गण्डकीमा नलगिएको प्रति संसद गुरुङले अश्चर्य प्रकट गरेका छन्। आफूलाई मन्त्री बन्न कुनै इच्छा नभएको टिप्पणी गरेका उनले केन्द्रमा भएको सहमति गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्नुपर्नेमा भने जोड दिए।
मन्त्री बन्ने कुरा आफ्नो भन्दापनि आफ्नो पार्टी र गठबन्धनको कुरा भएको उनको भनाई थियो। ‘यहाँ मेरो कुरा होइन। पार्टीको कुरा हो। केन्द्रमा तीनवटा पार्टीका अध्यक्षले भनेपछि यहाँ मुख्यमन्त्रीले कार्यान्वयन गर्नुपर्ने हो। हाम्रो अध्यक्षले यहाँको मुख्यमन्त्रीलाई फोन गर्ने होइन माथि प्रचण्ड र शेरबहादुर देउवालाई भन्ने हो,’ उनले भने।


