काठमाडौँ- राष्ट्रिय सभामा फागुन २० गते खाली हुने २० सिटमध्ये १० सिटमा दाबी गर्ने कांग्रेसले निर्णय गरेको छ। राष्ट्रिय सभा निर्वाचन हुने तय भइसकेकाले सत्ताधारी गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय लिइसकेकाले १० सिट दाबी गर्ने निर्णय कांग्रेसले लिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राष्ट्रिय सभामा १० सिट दाबी गर्ने निर्णय लिएको बैठकमा सहभागी एक नेताले बताए।
माघ ११ गते १९ सिटका लागि राष्ट्रिय सभा निर्वाचन हुँदै छ। यस्तै राष्ट्रपतिबाट मनोनित हुने ३ जनामध्ये एक जनाको पनि फागुन २० मा नै पदावधि सकिने भएकाले २० सिट खाली हुन लागेका हुन्। यीमध्ये १० सिटमा कांग्रेसले दाबी गर्न लागेको हो।
यस्तै काग्रेस कार्यसम्पादनले महासमिति बैठक पनि सार्ने निर्णय लिएको छ। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको हो।
यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने कांग्रेसको निर्णय थियो। पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक सार्ने प्रस्ताव गरेका थिए।


