काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी प्रतिकारमा उत्रिन आह्वान गरेका हुन्।
‘तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटका सबै नेताहरुलाई विभिन्न तहका सरकारहरूलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भई प्रतिकारमा उत्रन आह्वान गर्दछु,’ महतोको विज्ञप्तिमा उल्लेख छ।
नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन्।
लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। मधेस आन्दोलनको क्रममा असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको हो।



