काठमाडौँ- जिल्ला अदालत तनहुँ र नवलपुर साथै उच्च अदालत पोखराले सफाइ दिएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) विरुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्ने भएको छ।
सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त विपरित उच्च अदालतको निर्णय भन्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो।
उच्च अदालत पोखराको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो। उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीशद्वय माथेमा र फुयाँलको इजलासले नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चलाई दोहोर्याएर हेर्ने अनुमति दिएको थियो।
सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा अभिनेता शाह विरुद्ध उजुरी गरेकी थिइन्।
