पाल्पा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब उप्रान्त कांग्रेसले गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने बताएका छन्। शनिबार पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर भएको र यसको सैद्धान्तिक आधार समेत खस्किएको बताए।
‘हामीले हाम्रा मतदातालाई रुखमा होइन हसिया हथौडा,कलममा भोट हाल्न लगायौं। साइकलमा भोट हाल्न भन्यौ। मैले यस कुरामा फरक मत राखे पनि त्यसको अर्थ छैन,’ उनले भने, ‘म साथीहरुलाई पनि केही दोष दिन्न,किनकी हामीले निर्णय गरेको हो। तर अब महासमिति बैठकबाट हामीले भन्नुपर्छ,जे भयो भयो जितिने लोभ र हारिने डरले रुखबाहेक अरु चिन्हमा छाप लाउने अपराध अब गर्ने छैनौं भनेर डिक्लियर गनुपर्छ।’
महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला काम नगर्ने हो भने अरुलाई दोष दिएर उम्किने ठाउँ नभएकाले सरकारले गल्ती गरे प्रधानमन्त्रीलाई बालुवाटारबाट खुमलटार पठाउँछौं भन्ने आँट पनि गर्नुपर्ने बताए। महामन्त्री थापाले कांग्रेसका ८ लाख ७० हजार क्रियाशील सदस्यभन्दा बाहिर २० लाख भन्दा बढी जनता कांग्रेसको घरलाई मन्दिर मान्नेहरु रहेको बताए।
उनीहरुको आस्थामाथि चोट लागेको भन्दै उनले शेरबहादुर देउवादेखि गाउँसम्मका सभापतिले उनीहरुसँग हात जोडेर माफी माग्दै अब रुखबाहेक अरुलाई भोट हाल्न लगाउने गल्ति अपराध अब नगर्ने भनेर नयाँ यात्रा शुरु गर्नुपर्ने बताए।
