काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने १२ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण समेत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन्।
यस्तै त्यसपछि क्रमशः जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोसपाको साइकल, नेमकिपाको मादल, जममोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा रहेका छन्। प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपाले पनि दल दर्ताका लागि निवेदन दिएको थिएन।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ भने पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रियसभामा रिक्त हुने २० सदस्यमध्ये १९ जनाको निर्वाचन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।
माघ ११ गते हुने निर्वाचनकालागि आयोगले मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्न आह्वान गरेको थियो।
पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको आयोगले पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने छ।
पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ। माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ।



