काठमाडौँ- सरकारमा सबैभन्दा बढी मन्त्रालय सम्हालेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्ड सरकारका कामलाई १०० मा १० अंक मात्र दिन सकिने बताएका छन्। यो सरकार बनेदेखि अहिलेसम्मको मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड सरकार फेल भएको थापाको भनाइ थियो।
पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’ यद्यपि प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले भने आफूहरुले अभूतपूर्व राम्रो काम गरेको जिकिर गर्दै आएका छन्।
तर थापाले भने आफूलाई सरकारका कामकारबाही चित्त नबुझेको बताए। ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नु पर्यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’


