काठमाडौँ- मंसिर २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भयो। सुन ल्याउने गोरखा बारपाकका ४५ वर्षका चन्द्र घले समातिए । गाउँमा भेडा चराउने पेसाका घलेले १४ किलो सुन बोकेर विमानस्थलमा भित्रिएपछि सर्वत्र चासोको विषय भयो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका भन्सार प्रमुख टेकराज पाण्डेकै नेतृत्वमा सुन समातिएको थियो । भन्सार प्रमुखको नेतृत्वमा नै सुन समातिए पछि अहिले छानबिन भइरहेको छ।
आफूले लगाएको भित्री वस्त्रमा सुन लुकाएर निर्धक्क हिँडेका घलेले सुन सरसफाइ कर्मचारीलाई दिने, डस्टबिनमा फालिने र त्यहाँबाट बाहिर ल्याउने काम पनि सरसफाइ कर्मचारीले गर्ने योजना प्रमुख पाण्डेले तुहाइदिएका छन्। भन्सार कार्यालयले गरिरहेको अनुसन्धानबाट यस्तो योजना खुल्न आएको हो।
अहिले सरसफाइ सुपरभाइजरसमेत अन्य कर्मचारीलाई पनि अनुसन्धानको दायरामा राखिएको कार्यालयले जनाएको छ। सुन प्रकरणमा छानबिनका लागि अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
छानबिन समितिले सरसफाइ सुपरभाइजर मनसुन पाण्डे, सफाइ कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ ।


