काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशीलाई नेपाली नागरिकता दिने व्यवस्थाप्रति आपत्ति जनाएका छन्। मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले विवाह लगत्तै विदेशी महिलाले नेपाली नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकै बीच बनेको बताएका हुन्।
‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने। भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था रहेको उनको भनाइ थियो।
नेपालीहरुको विवाह भारत र चीनमा समेत हुने गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले थपे, ‘ठूलो जनसंख्या भएका छिमेकी छन्। छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउँछ कि, भोलि राष्ट्रियतामा खलल पुर्याउँछ कि भन्ने आशंका गरिन्छ।’
कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य बिमला राई पौडेलले छोरीलाई विश्वास नगर्ने तर बुहारीलाई विश्वास गर्ने कानुनी व्यवस्था रहेको बताइन्। ‘भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्न पर्छ । त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला (बुहारी)ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ,’ उनले थपिन्, ‘हामी विचरा माननीयहरु प्रभु रिसाउँछन् भनेर विभेद रहेको जान्दाजान्दै पनि ठप्पा (समर्थन) लगाउन बाध्य छौँ। दलको ह्वीपको नाममा हामी सांसदका हात बाँधिएका छन्।’
राष्ट्रिय सभाकी अर्की सदस्य अनिता देवकोटाले छोरा र छोरीको बिचमा विभेद रहेको बताइन्। ‘छोराले विहे गरेर ल्याउनेलाई तुरुन्तै नागरिकता दिन्छौँ। छोरीले विवाह गरेर ल्याउनेलाई दिदैनौं। यो छोरा र छोरीको विभेद हो,’ उनले भनिन्।


