काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिदबिक्रीका विषयमा सांसदले उठाएको प्रश्न दिन संसदीय समितिको बैठकमा पुगेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिका सांसदका प्रश्नको जवाफ दिन उनी संसदीय समितिमा हाजिर भएका हुन्।
बैठकमा प्रम दाहालले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको जिकिर गरेका थिए। आफू दुबईमा रहेका बेला एनसेलको खरिदबिक्री प्रक्रिया चलेको समेत उल्लेख गरे।
‘मैले दुबईमा नै सुनेँ र भोलिपल्ट नै फर्किएँ। त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएँ। मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो,’ उनले जिकिर गरे, ‘सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु। योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाइसकेको छु।’
एनसेल सेयर किनबेचको प्रभावबारे गहन अध्ययन गर्न मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको समेत उनले बताए।
सेयर खरिदबिक्री भएको विषयमा छानबिन गरेर विदेशी लगानीमा पर्ने असरका विषयमा पनि छानबिन गर्न भनिएको छ।


