पोखरा- नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको नारा देखेपछि सभापति शेरबहादुर देउवा आक्रोशित बनेका छन्। सम्मेलनको ब्यानरमा राखिएको ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने नाराप्रति देउवा आक्रोशित बनेका हुन्।
ब्यानरमा लेखिएको नाराका विषयमा प्रदेश सभापति शुक्रराज शर्मासँग देउवा रिसाएका थिए। ‘भ्रस्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवा जंगिएका थिए। नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन नै भएको थियो।
कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो। देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रस्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो।
नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने त्यो वाक्यांश अशुद्ध भएका कारण टेप टाँसिएको जिकिर गरेका छन्।
‘शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो तर जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो,’ उनले भने, ‘हामी कोही मालिक होइनौं, जनता हुन्।’
देश संघीय संरचनामा गइसकेको भए पनि संघले कानुन नबनाइदिएर प्रदेश सरकारहरुले काम गर्न नसकिरहेको भन्दै शर्माले देउवाको ध्यानाकर्षणसमेत गराएका थिए।



