काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर किनेका सतीशलाल आर्चायसँग आफ्नो निकट सम्बन्ध रहेको स्वीकार गरेका छन्। मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले आफू सिंगापुर जाँदा आचार्यकै घरमा बसेको स्वीकार गरेका हुन्।
उपचारका लागि दुई पटक सिंगापुर जाँदा दुवै पटक उनको घरमा बसेको प्रचण्डको भनाइ छ। प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली पनि आचार्यको घरमा बसेको जिकिर गरे।
‘मेरो श्रीमती बिरामी भएको बेला दुई पटक सिंगापुर जाँदा तिनै साथीकोमा बसेको छु। हाम्रो बिचमा कुरा पनि हुन्छ,’ उनले भने, ‘चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन। जनताको हित र राष्ट्रको हित नै मुख्य कुरा हो। शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ।’
बेलायतमा दर्ता भएको आचार्यको कम्पनीले एनसेलमा रहेको आजियटाको ८० प्रतिशत शेयर किन्ने घोषणा भएपछि उनको नेपालका उच्च राजनीतिक तहका व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक भएको थियो। एनसेलको २० प्रतिशत सेयर आचार्यकै श्रीमती भावना सिंह श्रेष्ठको कम्पनी सुनिभेरा क्यापिटलसँग छ। भावना नेपाली नागरिक हुन् भने आचार्य गैरआवासीय नेपाली नागरिक हुन्। आचार्यसँग सिंगापुरको नागरिकता छ।


