वीरगञ्ज (पर्सा)- जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ४५९ वटा उजुरी फछ्र्यौट गरेको छ।
अनलाइनबाट दर्ता भएका १ हजार ८७५ उजुरीमध्ये छलफल विधिबाट ४५९ वटा उजुरी पीडितको पक्षमा फछ्र्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।
यस्तै सहमति नभएपछि २ मुद्दा अदालतमा दर्ता भएको जनाएको छ। दर्ता भएका उजुरीमध्ये ९१८ उजुरीको छानबिन गर्दा ४५९ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। उनका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा ६ धुर ८ कनवा जग्गा र दुवै पक्षको सहमतिमा ८ करोड ८७ लाख ३५ हजार ६१ फिर्ता गराइएको छ।
मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याजपीडितको उजुरी बढी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए। परेका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको सहायक प्रजिअ लम्सालले बताए।
छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाइ छ।


