काठमाडौँ- माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान मस्यौदा समिति गठनसमेत गरेको जानकारी दिए।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्।
विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठकले विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने उनको भनाइ छ।
बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको ठहर गरेको छ।


