नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ। मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए।
कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उनले बताए। कंकालको सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएको छ। कंकाल धेरै नै गलिसकेकाले महिला वा पुरुषको हो भन्ने पनि खुल्न बाँकी छ। यद्यपि पुरुषको हुन सक्ने आशंका प्रहरीको छ।
जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सातआठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ। यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो।
घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कङ्काल अहिले मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको तथा डीएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिए।


