विराटनगर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीको विषयलाई बढी नकोट्याउन आग्रह गरेका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
एनसेलको सेयर खरिद बिक्रीका विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘यसलाई अनावश्यक बढी नकोट्याउनुस्।’ उनले यो विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा आफूले पर्याप्त रूपमा आफ्ना कुरा भनिसकेको समेत बताए। समितिमा उनले एनसेल किन्ने सतीशलाल आचार्यसँग आफ्नो चिनजान रहेको र आफूले सिंगापुर जाँदा दुईपटक उनकै घरमा बसेको समेत स्वीकार गरेका थिए। यद्यपि उनै सतीशलालले अहिले राज्यलाई झुक्यानमा पारेर ठगी गर्न खोजेको उनको आरोप थियो।
पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन लागेको चर्चा भएपनि उक्त चर्चा सही नभएको उनको जिकिर थियो। ‘कम्युनिस्ट पार्टीको नाम कहिल्यै पनि परविर्तन हुँदैन। खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुन सक्छ,’ उनले भने, ‘संविधानले पनि समाजवाद भनेको छ भने समाजवादको भाव आउने नाम दिनु अहिलेको वस्तुसंगत हुन्छ भनेका छौँ।’
कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने उनको भनाइ थियो। ‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ,’ उनले भने, ‘नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर कुराकानी गरेको छु। अतिवाद तिर जान दिनुहुँदैन।’


