काठमाडौँ- नेकपा (एमाले)का सचिव लेखराज भट्टलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भट्टनिवासमा नै पुगेका छन्। कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा पुगेर प्रधानमन्त्री दाहालले भट्टसँग भेटवार्ता गरेका हुन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल भट्टनिवास पुगेको सचिवालयले जानकारी दिएको छ। भेटमा दुवैबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रचण्ड र लेखराजबीच एक्लाएक्लै कुराकानीसमेत भएको थियो। भट्टनिवासमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले भट्टको घरसँग ४० वर्षदेखिको आफ्नो सम्बन्ध रहेको दाबी गरेका थिए।

‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ। यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने–बस्ने गर्थेँ। त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो,’ प्रचण्डले भनेका थिए, ‘बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो।’
लेखराज नेकपा एमाले र माओवादी विभाजन हुँदा ओलीतिर लागेका थिए। त्यसपछि प्रचण्ड र लेखराजबीच भेट भएको थिएन। भेटलाई आधार बनाएर माओवादी नेताहरुले भट्ट पुनः माओवादीमा नै फर्कन लागेको प्रचार गरेका छन् भने प्रचण्डभट्ट भेटलाई सामान्य राजनीतिक संस्कार मात्र भनेका छन्।
माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गरेका थिए।


