काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएका हुन्।
अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई सोमबार बिहान सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी खोटाङ जिल्ला दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
खोटाङ जिल्ला तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए।
मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
