काठमाडौँ– अधिवक्ता बाबुराम अर्याल एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपीसीग) को अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा पाकिस्तानका मुबसिर सरगनालाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्। अनलाइन भोटिङमा अर्यालले २१ मत ल्याउँदा सरगनाले १५ मत ल्याए।
विजयी भएसँगै अर्यालले संस्थाले एसिया प्यासिफिकमा लिडरसिप पोलिसीमा लिडर जन्माउने गरी काम गर्ने भएकाले नेपाली युवाहरुलाई पनि इन्टरनेशसल एक्सपोजर दिने गरी सहभागी गराउन सकिने बताए। उनले आफ्नो जितले नेपाली युवाको क्षमता वृद्धिमा टेवा पुग्ने पनि उनको भनाइ छ।
अर्याल साइबर कानून, साइबर सुरक्षा, दूरसञ्चार कानून तथा मिडिया कानूनको क्षेत्रमा लामो समयदेखि कार्यरत कानून व्यवसायी हुन्। उनले नेपाल तथा एसिया प्यासिफिकको क्षेत्रीय स्तरमा इन्टरनेट गभर्नेन्सका मुद्दाहरूमा लामो समयदेखि योगदान गर्दै आएका छन्।
यसैगरी दुई जना उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा भारतका डा. गोविन्द कुमार सर्वाधिक २१ मत ल्याई निर्वाचित भए। दोस्रो उपाध्यक्षका लागि नेपालका श्रीदीप रायमाझी र पाकिस्तानका वकास हसनको मत बराबर (१६) भएको हुँदा दोस्रो राउन्डको निर्वाचन भएको थियो।
दोस्रो चरणको निर्वाचनमा पाकिस्तानका वकास हसन विजयी भए। दुई वर्ष कार्यकाल रहने सञ्चालक समितिको रिक्त अध्यक्ष र दुई उपाध्यक्ष पदमा निर्वाचन भएको हो।
पाँच जनाको सञ्चालक समिति रहने एपीसीगको सचिवमा श्रीलङ्का कि सागरिका विक्रमशेकरा र कोषाध्यक्षमा बङ्गलादेशका शाह जहिदुर रहमान यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
एपीसीगले एसिया र प्रशान्त क्षेत्रमा इन्टरनेटको विकास र नीतिगत व्यवस्था, प्रविधिमा पहुँच, डिजिटल सुरक्षा र साक्षरता जस्ता विषयहरूमा क्षमता विकासको काम गर्दछ। संस्थामा एसिया प्रशान्त क्षेत्रका देशहरूबाट बहुसाझेदारी अवधारणामा सदस्यहरू आबद्ध हुन्छन्।
