पोखरा- पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिएको छ। सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली सहित ६० इन्जिनियर खटिएका छन्। फिल्डमा ४ सय २५ जना नेपाली कामदारले काम गरिरहेका छन्। निर्माण कम्पनिका अनुसार मध्य जनवरीदेखि कालोपत्रेको काम सुरु हुनेछ। हालसम्म सब बेसको काम १.७ किलोमिटर सकिएको छ।
कामदारसँगै उपकरण पनि थपिएका छन्। एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर ६ वटा र पानीको ट्याङ्कर ८ वटा परिचालन गरिएको छ। सबबेस ८० हजार मिटर क्युब र बेस ३० हजार मिटर क्युव भण्डार गरिएको छ। २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ। पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुनेछ। जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको पिच हुनेछ।
पश्चिम खण्डको अवलोकनमा पुगेका पोखराका प्रमुख धनराज आचार्यले पछिल्लो कामको प्रगति राम्रो पाएको सुनाए। तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए। सडक निर्माणमा भइरहेको ढिलाइको क्षति पोखराको पर्यटनले भोगिरहेको उनले बताए। आयोजना अन्तरगत पोखरा खण्डको काम अझ तीव्र गतिमा गर्न आग्रह गरे।
सबै खालको समन्वय गर्न आफूहरू तयार रहेको उनले बताए। शुक्ल गण्डकी नगरपालिकाका प्रमुख कृष्ण पण्डितले आयोजना क्षेत्रमा पर्ने सबै समस्या समाधानका लागि आफूहरू तयार रहेको बताए।
एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा बन्न लागेको ३९ किलोमिटरको दोस्रो खण्डमा मात्रै ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ। निर्माणमा कम्पनीको सहायक कनट्र्याक्ट म्यानेजर जियान युचुले आफूहरू तोकिए कै समय सीमा भित्र सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी लागिरहेको बताए। सडक स्तरोन्नतिमा मुख्य समस्याका रूपमा बिजुलीको पोल र खानेपानीको पाइप रहेको उनले बताए।


