काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। इपीएस फारम भर्न आएका युवाले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन्। आक्रोशित युवाले बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरेका थिए।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।
एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका ज्वाला मन्त्री क्वार्टरबाट पार्टीको केन्द्रीय समिति बैठकका लागि गइरहेका थिए। बालकुमारी क्षेत्रमा पुगेपछि प्रदर्शनकारीले मन्त्री ज्वालालाई रोकेका थिए। गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकारी पनि थिए।
गाडीलाई घेरा हालेपछि सुरक्षा अधिकारी गाडीबाट बाहिर निस्किएका थिए। मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे।
